Section 7J
तेस्रो पक्षबाट ग्राहक पहिचान तथा सम्पुष्टि गराउन सकिने
(१) देहायको अवस्थामा सूचक संस्थाले ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी केही कार्य तेस्रो पक्षबाट गराउन सक्नेछः– (क)   ग्राहकको पहिचान तथा सम्पुष्टि यस परिच्छेद बमोजिम हुने कुरामा सूचक संस्था विश्वस्त भएमा, (ख) यस परिच्छेद बमोजिम आवश्यक ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न प्रयोग गरिएका सम्पूर्ण कागजात तथा विवरण सम्बन्धी जानकारी सूचक संस्थालाई तत्काल प्राप्त हुने भएमा, र (ग) ग्राहक पहिचान तथा सम्पुष्टि गर्न प्रयोग गरिएका सम्पूर्ण कागजात, विवरण तथा जानकारी सूचक संस्थाले मागेका बखत विना कुनै विलम्व प्राप्त हुने सुनिश्चित भएमा । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको तेस्रो पक्षको रुपमा रहेको संस्थाबाट भएको ग्राहकको पहिचान तथा सम्पुष्टिलाई सूचक संस्थाले स्वीकार गर्न पाउने छैनः– (क) त्यस्तो संस्था सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना नगर्ने वा आंशिक रुपमा मात्र पालना गर्ने भनी पहिचान भएको मुलुकको भएमा, (ख) त्यस्तो संस्थामा ग्राहकको पहिचान तथा सम्प्ुष्टि सम्बन्धी यस परिच्छेद बमोजिमको व्यवस्था विद्यमान नभएमा, वा (ग) त्यस्तो संस्था सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नियमन, निरीक्षण, सुपरीवेक्षणको दायरा अन्तर्गतको नभएमा । (३) उपदफा (१) बमोजिम तेस्रो पक्षबाट ग्राहकको पहिचान तथा सम्पुष्टि गरिएको भए तापनि यस परिच्छेद बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी अन्तिम दायित्व सूचक संस्थाको हुनेछ ।